
काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज (सोमबार) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । यसका कारण हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ ।
हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिनभर हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र चट्याङबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

























