नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १३:४५

काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको लगायतको उपस्थितिमा सोमबार सुरुङमार्गको उद्घाटन गरिएको हो ।

उद्घाटनपछि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका गाडीजस्ता आपत्‌कालीन सवारीसाधनलाई मात्रै सुरुङमा प्रवेश अनुमति दिइने आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।

Advertisement

सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि शुल्क तय गरिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे र इन्धनरहित सवारीसाधनलाई सुरुङ प्रवेशमा रोक लगाइएको छ । यस्तै डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि निषेध गरिएको छ ।

टोल शुल्क भुक्तानीका लागि आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित एन-ट्याग स्टिकरको व्यवस्था गरिएको छ । हाललाई एक, दुई र पाँच हजार रुपैयाँ मूल्यका एन-ट्याग उपलब्ध गराइएको छ ।

सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापन युसिन-एआरटी जेभीले पाँच वर्ष गर्नेछ भने मर्मत सम्भारको काम एक वर्षसम्म जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सम्हाल्ने सम्झौता छ । जापानको करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×