
इनरुवा । सुनसरीको देवानगन्ज र आसपासका क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ । शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि स्थानीय जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा भने कायम राखिएको छ । प्रशासनले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने व्यवस्था लागू गरेको हो ।
प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न स्थानीयवासीसँग आग्रह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिबाना र कैद सजाय गरिने प्रशासनले जनाएको छ ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच विवाद र झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । नौ जना घाइते भएका थिए । सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका हुन् । हिंसात्मक घटना हुन थालेपछि प्रशासनले सोमबार बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।




















