
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति र सोमबार दिउँसो भएको घटनाप्रति शोक व्यक्त गर्दै तीनवटा पालिकाले सद्भावको अपिल गरेका छन् । साथै, घटनाको शोकमा मंगलबार स्थानी बिदासमेत दिएका छन् ।
हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाले घटनाप्रति शोक व्यक्त गरेका हुन् । दुई गाउँपालिकाले मंगलबार स्थानीय शोक बिदा दिएका छन् भने कोशी गाउँपालिकाले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।
हरिनगर गाउँपालिकाले घटनामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्थानीय शोक बिदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँद्वारा जारी विज्ञप्तिअनुसार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहनेछन् ।
गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । साथै, सामाजिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैसँग अपिल गरेको छ ।
यस्तै, भोक्राहा नरसिंह गाउँपालिकाले पनि देवानगन्ज घटनाप्रति शोक व्यक्त गर्दै स्थानीय बिदा दिएको छ । अध्यक्ष अजमल अख्तर आजादद्वारा जारी सूचनामा गाउँपालिका, वडा कार्यालय, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय, अत्यावश्यकबाहेकका स्वास्थ्य संस्था र अन्य मातहतका कार्यालय बन्द रहने उल्लेख छ । गाउँपालिकाले अफवाह फैलाउने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा साम्प्रदायिक सद्भावमा असर पर्ने गतिविधि नगर्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
कोशी गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै देवानगन्ज–४ का ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । अध्यक्ष ऐयुब अन्सारीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
गाउँपालिकाले घटनाको निष्पक्ष, पारदर्शी र तथ्यपरक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । साथै, घटनापछि जिल्लाका विभिन्न स्थानमा सामाजिक शान्ति तथा सुव्यवस्थामा असर पुग्ने गतिविधि र सर्वसाधारणमाथि भएका अमानवीय व्यवहारप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।

























