
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा ठूलो तनाव उत्पन्न भएको छ ।
प्रदर्शन र आन्दोलनका नाममा अराजक समूहले कोशी कटान क्षेत्रका व्यावसायिक पसलहरूमा आगजनी र तोडफोड गरेका छन् । एक्कासि आएको समूहले कोशी कटान बजारमा रहेका स्थानीय व्यवसायीहरू सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका पसलहरूलाई लक्षित गरी आगजनी एवं तोडफोड गरेको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले बताए ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनी र तोडफोडबाट व्यवसायीहरूको भौतिक सामग्री तथा पसलभित्र रहेका सामानहरू नष्ट भई ठूलो आर्थिक क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ ।
घटनालगत्तै सो क्षेत्रमा सुरक्षा उपस्थिति बढाइएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
दुई समुदायबीचको विवाद झडपमा परिणत भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना घाइते भएका थिए । १३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ । आन्दोलनका नाममा विभिन्न स्थानमा आक्रमण, आगजनी र तोडफोडका घटनासमेत भएका छन् ।

























