विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १०:०३
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिमको जिम्मेवारी पूरा नगर्ने १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई निश्चित अवधिका लागि सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही वा बोलपत्रमा भाग लिन पाउने छैनन् । कार्यालयले कम्पनीसँग सम्बन्धित मुख्य व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ ।

Advertisement

सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरूको कामको प्रकृति र ढिलासुस्तीका आधारमा १ वर्षदेखि २ वर्षसम्मको प्रतिबन्ध लगाएको छ । हेटौँडा–४ को शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालि, काठमाडौंको गौरी पार्वती कन्स्ट्रक्सन, वाइ.पी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै, एक वर्ष ६ महिना (डेढ वर्ष) का लागि गुल्मीको सुबोध–संजीव जेभी, सर्लाहीको सुबोध–लवली जेभी र जनकपुरधामको मरवैता कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी कालोसूचीमा परेको छ । एक वर्षका लागि काठमाडौंको ग्लोबल ट्रेडिङ कन्सर्न प्रालि, सिन्धुलीको गाल्वा / मसुद / सारस जेभी, विराटनगरको मसुद निर्माण सेवा प्रालि, सिन्धुलीको सारस विल्डर्स प्रालि र गुल्मीको मनिषा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिको नाम कालोसूचीमा राखिएको छ ।

विभिन्न सार्वजनिक निकायहरूले काममा लापरबाही गरेको भन्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले यो निर्णय लिएको हो । सरकारले पछिल्लो समय सम्झौता अनुसार काम नगर्ने र विकास निर्माणका आयोजनाहरू अलपत्र पार्ने निर्माण कम्पनीहरूमाथि कडा निगरानी राख्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×