
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रलाई लक्षित गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पाउने छैन ।
कर्फ्युको क्षेत्र पूर्वतर्फ पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म रहेको छ । साथै, पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्र र सम्पूर्ण इनरुवा बजार क्षेत्र कर्फ्युको दायरामा परेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित अप्रिय घटना हुन नदिन तथा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले कर्फ्यु आदेश जारी गरिएको उल्लेख गर्दै सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


























