देवानगन्जमा प्रहरी प्रमुखको जिम्मेवारी दिएर खटाइएका इन्स्पेक्टर प्रकाश पराजुली ।विराटनगर । सुनसरीको देवानगन्जस्थित इलाका प्रहरी कार्यालयका प्रमुख एवं इन्स्पेक्टर राकेश राई पनि जिम्मेवारीबाट हटाइएका छन् ।
राई देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति आक्रमणमा परेर घाइते भएका प्रहरी अधिकृत हुन् । राईलाई मंगलबार जिम्मेवारीबाट हटाउँदै उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत इन्स्पेक्टर प्रकाश पराजुलीलाई पठाइएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
खड्काका अनुसार काजमा पठाइएका पराजुलीले मंगलबार नै इलाका प्रहरी कार्यालय देवानगन्जमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । राईलाई भने देवानगन्जबाट सुनसरीको दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा खटाइएको छ ।
कप्तानगन्जमा आइतबार राति दुई पक्षबीच विवाद र झडपको अवस्था उत्पन्न भएपछि राई प्रहरी टोली लिएर घटनास्थल पुगेका थिए । त्यही क्रममा सम्झाइबुझाइ गर्दै गर्दा उत्तेजित भिडले ढुंगामुढा गर्दा उनको टाउकोमा चोट लागेको थियो । ढुंगाले टाउकोमा लागेर घाइते भएका उनको टाउकोमा पाँच टाँका लगाउनु परेको छ ।
आफूमाथि एक्कासि ढुंगा प्रहार भएपछि इन्स्पेक्टर राईले साथमा भएको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरेका थिए । गोली चलाउन थालेको थियो ।
सशस्त्रको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । गोली लागेर अन्य नौ जना युवा घाइते भएका छन् । सुरक्षाकर्मीसहित घाइते हुनेको संख्या २२ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सुनसरीका विभिन्न ठाउँमा आगजनी, तोडफोड र व्यक्ति केन्द्रित आक्रमणका घटना भइरहेका छन् । सुनसरीको विभिन्न ठाउँको अवस्था सोमबार र मंगलबार तनावग्रस्त बन्यो । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शन र हिंसात्मक घटना रोकिएका छैनन् ।
घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवेलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरुका ठाउँमा खटाइएका नयाँ प्रजिअ, डीआईजी र एसपीले जिम्मेवारी सम्हालेर काम गर्न थालेका छन् ।
सुनसरीमा घटना हुँदा डीआईजी घिमिरे र एसपी थेवे बिदामा थिए । बिदामा भएका बेला घटना हुँदा पनि उनीहरुलाई जिम्मेवारीबाट हटाइएको हो । सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति तथा सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी श्यामकुमार कार्कीलाई छानबिनका लागि भनेर असार ३० गते सशस्त्र प्रहरी मुख्यालय तानिएको थियो ।

























