
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गोलीकाण्ड भएको तीन दिनपछि कोशी प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गृह प्रदेशमा गोली लागेर एक जनाको मृत्यु एवं सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते हुँदा पनि प्रदेश सरकारले केही बोलेको थिएन । यति ठूलो तनावमा पनि प्रदेश सरकार मौन बसेको भन्दै सर्वत्र आलोचना भइरहेको थियो ।
प्रदेश सरकार मौन रहेको भनेर सबैले चासो र चिन्ता व्यक्त गरिरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साउन १० गते आइतबार राति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मंगलबार राति एक भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रहसमेत गरे ।
उनले घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कोशी प्रदेश सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री कार्कीले उक्त घटनाले नेपाली समाजमा सदियौँदेखि कायम रहँदै आएको धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने चिन्ता व्यक्त गरेका छन् । नेपाल विभिन्न धर्म, सम्प्रदाय र संस्कृतिका मानिसहरू मिलेर बसेको मुलुक भएकाले कुनै पनि घटनाले सामाजिक एकता र आपसी विश्वास कमजोर हुन नदिन सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
उनले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सुरक्षा निकायलाई संयमता र जिम्मेवारीका साथ परिस्थितिको व्यवस्थापन गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार नेपाल सरकारका निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा जिल्ला प्रशासनसँग समन्वय गरेर घटनाको अवस्था सामान्य बनाउन र आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
उनले सबै नागरिकलाई अफवाहमा नलाग्न, शान्त र संयमित रहन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सहयोग गर्न अपिल गरेका छन् ।
कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना युवक घाइते भएका छन् । सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका हुन् । त्यसयता निरन्तर भइरहेको आक्रमण, हुलदंगा, आगजनी, तोडफोड, लुटपाट र राजमार्ग बन्दको घटनाले सुनसरी निक्कै अशान्त बन्दै गएको छ ।

























