
काठमाडौं । विश्व बाघ दिवसका अवसरमा आज (बुधबार) नेपालमा पछिल्लो बाघ गणनाको तथ्यांक सार्वजनिक गरिने भएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा नयाँ तथ्यांक सार्वजनिक गर्ने भएको हो ।
नेपालमा चारदेखि पाँच वर्षको अन्तरालमा बाघ गणना गर्ने परम्परा छ । सन् २०२२ को गणनाअनुसार देशमा ३५५ वटा पाटेबाघ थिए । तीमध्ये सबैभन्दा धेरै १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा, १२५ वटा बर्दियामा, ४१ वटा पर्सामा, ३६ वटा शुक्लाफाँटामा र २५ वटा बाँके राष्ट्रिय निकुञ्जमा भेटिएका थिए ।
मन्त्रालयका अनुसार बासस्थानको सुधार, आहारा प्रजातिको वृद्धि र संरक्षण प्रयास प्रभावकारी बनेकाले यसपटक बाघको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । नेपालले सन् २०१० मा १२१ वटा रहेको बाघको संख्या सन् २०२२ सम्म ३५५ पुर्याउँदै विश्वव्यापी ‘टिएक्स–२’ लक्ष्य पूरा गर्ने मुलुकमध्ये एक बनेको थियो ।
नेपालमा हाल पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगल तथा आसपासका जैविक मार्गमा मात्रै बाघ पाइन्छ । विश्वभर भने सन् २०२५ सम्मको तथ्यांकअनुसार ५ हजार ३ सय ५७ वटा बाघ रहेको अनुमान छ । जसमा भारतमा सबैभन्दा धेरै ३ हजार १ सय ६७ वटा छन् ।
पछिल्लो गणना २०८२ पुसदेखि करिब तीन महिनासम्म सञ्चालन गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी क्षेत्रमा करिब १ हजार १ सय स्वचालित क्यामेरा जडान गरी बाघका तस्बिर विश्लेषण गरेर संख्या निर्धारण गरिएको हो । सर्वेक्षणमा करिब २ सय ५० जना प्राविधिक, वनकर्मी, नेपाली सेना, संरक्षणकर्मी र स्वयंसेवक परिचालन भएका थिए ।
बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौती पनि बढ्दै गएको छ । हाल देशभर १६ वटा समस्याग्रस्त बाघ इन्क्लोजरमा राखिएका छन् । तिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ ।

























