
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार रातिदेखि उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ । तर, सुनसरीका अन्यत्र स्थानमा भने प्रदर्शन जारी छ ।
बुधबारदेखि सुरक्षा व्यवस्था थप सुदृढ बनाइएपछि घटनाको उद्गमस्थल मानिएको कप्तानगन्जको अवस्था अघिल्लो दिनको तुलनामा शान्त देखिएको छ । यद्यपि, जिल्लाका हरिनगर, घुस्की, दुहबी, लौकहीलगायतका विभिन्न स्थानमा भने टायर बालेर प्रदर्शन गर्ने र आवतजावत अवरुद्ध पार्ने गतिविधि जारी रहेकाले समग्र जिल्लाको अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।
घटनाको यथार्थ छानबिन गर्न सरकारले गठन गरेको समिति र जिल्ला सुरक्षा समितिको संयुक्त टोली बुधबार कप्तानगन्ज पुगेर स्थलगत अध्ययनमा जुटेको छ । टोलीले मृतकका परिवार, घाइते, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग छुट्टाछुट्टै भेटघाट गरी घटनाको विस्तृत विवरण संकलन गरिरहेको हो ।
घटनाको वास्तविक कारण, झडपको अवस्था, सुरक्षा निकायको भूमिका तथा त्यसपछिका घटनाक्रमका बारेमा तथ्य संकलन भइरहेको प्रशासनले जनाएको छ । छलफलका क्रममा स्थानीयले लामो समयदेखि केही व्यक्तिले समुदायमाथि दबाब, धम्की र थिचोमिचो गर्दै आएको गुनासो गरेका छन् ।
उनीहरूले यसअघि भएका गाई काटिएका घटनामा समेत प्रभावकारी कानुनी कारबाही नभएकाले समुदायमा असन्तुष्टि बढ्दै गएको बताएका छन् । पछिल्लो घटनामा संलग्न मुख्य अभियुक्त तथा गोली चलाउने प्रहरीमाथि समेत निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
टोलीसँगको भेटमा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पीडित परिवारलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याइने र निष्पक्ष छानबिनपछि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । उनले पीडितलाई न्याय दिलाउने विषयमा प्रशासन गम्भीर रहेको पनि बताए ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जिल्लाभरको सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ । समुदायबीच संवाद, समन्वय र विश्वासको वातावरण सिर्जना गर्दै अवस्था पूर्ण रूपमा सामान्य बनाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।
विभिन्न पालिकाहरुले पनि आफ्नै पहलमा सर्वपक्षीय बैठक बोलाएर समस्या समाधान र तनाव अन्त्यका लागि पहल गरिरहेका छन् । स्थानीयले पनि सामाजिक सद्भाव कायम राख्न, अफवाहको पछि नलाग्न तथा कानुन हातमा नलिन सबै पक्षलाई आग्रह गरेका छन् ।
कप्तानगन्जको अवस्था सुधारोन्मुख भए पनि सुनसरीका अन्य स्थानमा भने विरोध प्रदर्शन जारी छ । हरिनगर, घुस्की, दुहबी, लौकहीलगायतका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर विरोध जनाइरहेका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि प्रदर्शन पूर्ण रूपमा रोकिएको छैन ।
यसैबीच, पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन सञ्चालन अझै प्रभावित बनेको छ । डीएसपी खड्काका अनुसार कर्फ्यु आदेश जारी रहेकाले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । अत्यावश्यक सेवाबाहेक अन्य आवागमनमा रोक लगाइएको छ ।
स्थिति थप तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार रातिदेखि सुनसरीका १० वटा स्थानीय तहलाई समेट्ने गरी कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनले शान्ति सुरक्षा कायम राख्न, सम्भावित थप झडप रोक्न तथा जनधनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु आवश्यक भएको जनाएको छ । सुरक्षा निकायले कर्फ्यु आदेशको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएका छन् ।
आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना घाइते भएका थिए । सुरक्षाकर्मीसहित घाइतेको संख्या २२ भन्दा धेरै रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा दुई समुदायबीच दोहोरो झडप, आगजनी, तोडफोड, आक्रमण तथा लुटपाटका घटना भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको छ भने बजार, शैक्षिक संस्था र यातायात सेवा प्रभावित बनेका छन् । घटनापछि जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको भन्दै प्रभावकारी हस्तक्षेप हुन नसकेको आरोप लगाउँदै विभिन्न राजनीतिक दल, नागरिक समाज तथा स्थानीय तहबाट सरकारको तीव्र आलोचना भइरहेको छ ।
प्रशासनले भने अवस्था नियन्त्रणबाहिर जान नदिन सुरक्षा सतर्कता उच्च बनाइएको, कानुनी प्रक्रिया अघि बढाउन दोषीको पहिचान थालिएको र समुदायबीच विश्वासको वातावरण पुनःस्थापित गर्न निरन्तर प्रयास भइरहेको जनाएको छ । जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म सुरक्षा व्यवस्था कडा राखिने र आवश्यक परे थप निर्णयसमेत गरिने प्रजिअ अर्यालले बताए ।



















