
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका मृतकका परिवार र प्रभावितलाई कोशी प्रदेश सरकारले उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ तथा आगजानीबाट घर, पसल र अन्य संरचनामा क्षति बेहोरेका तथा घाइते भएकाका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय बैठकले राहत प्रदान गर्ने घोषणा गरेर सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णयसमेत गरेको छ ।
साउन १० गते आइतबार राति कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन प्रदेश सरकारले राजनीतिक दल, सुरक्षा निकाय, प्रशासन तथा सरोकारवाला पक्षसँग बुधबार बैठक गरेको हो । बैठकले घटनामा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
बैठकले सामाजिक सद्भाव र साम्प्रदायिक एकतालाई थप मजबुत बनाउन राजनीतिक दल, सामाजिक संस्था र प्रशासनबीच समन्वयात्मक पहल गर्ने निर्णय लिएको छ । स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरमा मेलमिलाप र आपसी विश्वास बढाउन सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका अभियान सञ्चालन गरिने भएको छ ।
बैठकले सबै धार्मिक समुदायका संघ संस्थाले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन आग्रह गरिएको छ । घाइतेको उपचार तथा मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, देवानगन्जसहित प्रभावित जिल्ला र आसपासका क्षेत्रमा यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको संवेदनशील अवस्थामा सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिकले संयमता अपनाउँदै सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । उनले अफवाह, उत्तेजना र सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षसँग आग्रह गरे ।
सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।


























