
काठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्दै विधेयकहरू संसद्मा लैजाने बाटो खोलेको हो।
मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा, खानी तथा खनिज पदार्थ, सङ्क्रामक पशु रोग नियन्त्रण र राहदानी ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
त्यसैगरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम निषेध तथा नियमित गर्ने, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन र कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयकलाई पनि सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय भएको छ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।
यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ। मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
























