
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गतेदेखि उत्पन्न विवादले हिंसात्मक रूप लिँदै धार्मिक तथा सामाजिक सद्भावमा गम्भीर असर पुगेको भन्दै उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ जिल्ला अदालत बार एसोसिएसनले संयुक्त अपिल जारी गरेका छन् ।
संयुक्त अपिलमार्फत बार एसोसिएसनहरूले देवानगन्जमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको तत्काल उचित व्यवस्थापन गर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । नेपाल विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको आधारमा अघि बढेको मुलुक भएको उल्लेख गर्दै कुनै पनि तत्व, आवरण वा बहानामा सामाजिक एकता र धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि कसैको हितमा नहुने अपिलमा जनाइएको छ ।
बार एसोसिएसनहरूले देवानगन्जको घटनाबाट उत्पन्न तनावलाई संवाद, संयम र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । साथै, हिंसाबाट प्रभावित नागरिकहरूको अविलम्ब व्यवस्थापन गरी शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सम्बन्धित सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
उच्च अदालत विराटनगर बार एसोसिएसनका अध्यक्ष हरिबहादुर बराल र मोरङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर मण्डलद्वारा जारी संयुक्त अपिलमा सम्पूर्ण कानुन व्यवसायी तथा शुभेच्छुकहरू सामाजिक शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई संयमता, सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरिएको छ ।


























