
एजेन्सी । जापानको दक्षिण-पश्चिम क्युसु क्षेत्रस्थित कुमामोतो प्रान्तमा मंगलबार स्थानीय समयअनुसार दिउँसो ४:२७ बजे ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
भूकम्पपछि १०० भन्दा बढी पराकम्पन आइसकेको छ भने थप मानिस ‘कार्डियोपल्मोनरी अरेस्ट’ (मुटु तथा श्वासप्रश्वास बन्द) को अवस्थामा फेला परेका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको भूकम्पपछि आगामी दुई-तीन दिनभित्र ७ सम्मको तीव्रताका पराकम्पन आउन सक्ने चेतावनी जारी गरिएको छ। भूकम्पलगत्तै कासिमास्थित इयोन सपिङ मलमा सम्भावित ग्यास लिक भई विस्फोट हुँदा दोस्रो तला भत्किएर ३ जनाको ज्यान गएको छ। त्यस्तै यात्सुसिरोको एक कागज कारखाना र अन्य क्षेत्रमा गरी कैयौँ मानिस अझै बेपत्ता छन्।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार कार्यलाई ‘समयविरुद्धको दौड’ भन्दै ४ हजार ६ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएकी छन्।
करिब ३५ डिग्री सेल्सियसको अत्यधिक गर्मीका बिच उद्धार कार्य जारी राखिएको छ भने हजारौँ मानिस अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका छन्। भूकम्पका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ।

























