
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।
बुधबार एक सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले ती घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै, उनले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उपराष्ट्रपति यादवले नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरे । ‘सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु,’ उनले सन्देशमा भनेका छन् ।
कुनै पनि समस्याको समाधान शान्तिपूर्ण संवादमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै उपराष्ट्रपतिले आफ्ना माग र विचारहरू संयमित ढंगले प्रस्तुत गर्न सबै पक्षलाई आग्रह गरे । स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजलाई आपसी समन्वय गरी विश्वासको वातावरण निर्माण गर्न पनि उनले विशेष जोड दिए ।
संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्ति प्रति सचेत रहन आग्रह गर्दै उनले सञ्चारमाध्यमलाई समेत तथ्यपरक र संयमित भई समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।
राष्ट्रिय एकताको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उपराष्ट्रपति यादवले विद्यमान समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई अग्रसर हुन आह्वान गरेका छन् ।


























