
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको छ। बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव कायम राख्न आह्वान गरेको थियो।
उक्त घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत केही धारणा सार्वजनिक गरे पनि मन्त्रिपरिषद् बैठकमा यसबारे कुनै औपचारिक निर्णय भए/नभएको सरकारले स्पष्ट पारेको छैन।
बैठकपछि नियमित निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनसरी घटनाबारे केही उल्लेख गरेनन्। सञ्चारकर्मीहरूले यसबारे प्रश्न सोध्न खोज्दा उनी जवाफ नदिई पन्छिएका थिए। उनका सहयोगीले अन्य कार्यक्रम रहेको भन्दै सञ्चारकर्मीहरूलाई पन्छाएका थिए।
सरकारले उक्त घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा टोली खटाएर काम सुरु गरिसकेको छ। यद्यपि मृतकका परिवार र घाइतेहरूले क्षतिपूर्ति, शहीद घोषणासहित विभिन्न माग राख्दै आएका छन्। ती मागका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्बाट केही निर्णय गरे/नगरेको विषय अझै बाहिर ल्याइएको छैन।

























