
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका २५ वर्षीय ओमप्रकाश मेहताको शव तीन दिनदेखि अस्पतालमै रहेको छ । शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा रहेको हो ।
पीडित परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टमसमेत हुन सकेको छैन । देवानगन्ज–४ घर भएका ओमप्रकाशको बायाँ काखीबाट गोली छिरेको अस्पतालले जनाएको छ । घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि राति १०ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । हालसम्म उनको शव न्युरो अस्पतालको शवगृहमै रहेको हो । उनी अविवाहित थिए ।
मृतकका परिवारको माग पूरा नभएसम्म शव नबुझ्ने अडान कायमै रहेको छ । परिवारले ओमप्रकाशलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
देवानगन्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहताका अनुसार घटनापछि गाउँको अवस्था बुधबारबाट क्रमशः सामान्य बन्दै गएको भए पनि स्थानीयमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिप्रति विश्वासको अभाव देखिएको छ । स्थानीयले प्रभावकारी छानबिन गरेर पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको भन्दै समितिको निष्पक्षतामाथि प्रश्न उठाएको उनले बताए ।
वडाध्यक्ष सुशीलले घरेलु हातहतियार लिएर खुलेआम समाजमा आतंक फैलाउने गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न सरकारसँग मागसमेत गरेका छन् । उनका अनुसार मृतक ओमप्रकाशको परिवारले घरमै प्लास्टिकको बोरा बनाउने फ्याक्ट्री सञ्चालन गर्दै आएको थियो । सोही व्यवसायबाट परिवारको जीविकोपार्जन हुँदै आएको उनले बताए ।
परिवारको आर्थिक अवस्था मध्यम रहेको र करिब १० कट्ठा जग्गा रहेको जानकारी सुशीलले दिए । ओमप्रकाशको घरमा बुवा, आमा र भाइ छन् । दिदीको बिहे भइसकेको छ । विवाहित रहेका भाइ मनोज मेहता रोजगारीका लागि मलेसियामा रहेको र घटनाको खबर पाएपछि मंगलबार नेपाल फर्किएको वडाध्यक्ष सुशीलले जानकारी दिए ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले पीडित परिवारसँग वार्ता भइरहेको र सहमति भएपछि पोस्टमार्टम गरेर शव जिम्मा लगाइने बताए । उनका अनुसार शव बुझाउने प्रयास भइरहे पनि परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान कायम राखेकाले प्रक्रिया अघि बढ्न सकेको छैन । ‘पीडित परिवारका केही माग छन् । ती माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिनु भएको छ,’ डीएसपी खड्काले भने ।

उता, गृह मन्त्रालयले गठन गरेको भूपेन्द्र थापा नेतृत्वको उच्चस्तरीय छानबिन समितिले बुधबार मृतकका परिवारसँग भेट गरेको छ । समितिका सदस्यहरूले मृतकको घरमै पुगेर घटनाको पृष्ठभूमि, घटनाक्रम तथा त्यसबेला सुरक्षा निकायले निर्वाह गरेको भूमिकाका बारेमा परिवारसँग जानकारी लिएका छन् । समितिले परिवारका गुनासा, माग तथा सुझावसमेत सुनेको छ ।
छानबिन समितिले घटनास्थलको अवलोकन गर्नुका साथै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा तथा सम्बन्धित पक्षसँग पनि समितिले छलफल गरेको छ ।
दुई पक्षबीच भएको झडपका क्रममा मानवीय क्षति भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले थापाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा सरोकारवाला पक्षबाट संकलन गरिएका विवरणका आधारमा विस्तृत प्रतिवेदन तयार गरी एक साताभित्र गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी पाएको छ ।
सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिने तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आवश्यक सबै कदम चालिने प्रतिबद्धता व्यक्त गरेको छ ।
गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाशको मृत्यु भएको थियो । उक्त घटनामा गोली लागेर अन्य नौ जना युवा घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि सुनसरीका विभिन्न ठाउँमा दुई पक्षबीच झडप, आक्रमण, आगजनी, तोडफोड, लुटपाटका घटना भएका छन् । राजमार्गमा सवारीसाधन चलाउनसमेत अवरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा संवेदशीलतालाई मध्यनजर गर्दै जिल्लाका १० वटा पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

























