सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार २०:३३

विराटनगर । सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव सोमबार र मंगलबार हिंसात्मक बने पनि बुधबार अवस्था उल्लेख्य रूपमा शान्त देखिएको छ । कर्फ्यु आदेश भने यथावत् राखिएको छ । जिल्लाभर सुरक्षा व्यवस्था झन् कडा पारिएको छ ।

उच्च सुरक्षा सतर्कताबीच बुधबारबाट तनाव मत्थर हुँदै गएको हो । मंगलबार रातिसम्म बजार क्षेत्रमा झडप र तनाव भइरहे पनि बुधबार दिनभर ठूलो अप्रिय घटना भएन । बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन गरिएकाले अवस्था नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ । कर्फ्यु जारी रहेकाले सर्वसाधारणलाई भेला, जुलुस तथा अनावश्यक आवतजावतमा रोक लगाइएको छ ।

Advertisement

गृहमन्त्रालयले गठन गरेको सहसचिव भूपेन्द्र थापा नेतृत्वको छानबिन समिति बुधबार पहिलो पटक घटनास्थल पुगेर स्थलगत अध्ययन गरेको छ । समितिले स्थानीय बासिन्दासँग बयान लिँदै घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरेको छ । मंगलबार नै टोली घटनास्थल जाने तयारीमा रहे पनि दुई पक्षबीचको तनावका कारण सम्भव भएको थिएन । यसअघि समितिले अस्पतालमै पुगेर गोलीले घाइते भएकाहरूको बयान लिएको थियो ।

बुधबार घटनास्थल पुगेको छानबिन टोलीलाई स्थानीयले निष्पक्ष अनुसन्धानको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । तनाव अन्य क्षेत्रमा फैलिन सक्ने संकेत देखिएपछि राजनीतिक दलहरूले पनि सक्रियता बढाएका छन् । काठमाडौंमा भएको सर्वदलीय छलफलको निर्णयअनुसार देवानगन्ज र हरिनगर गाउँपालिकामा सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको सर्वदलीय बैठकले पनि सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम गर्न पहल गर्ने निर्णय गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि सर्वपक्षीय बैठक भयो । यद्यपि, अवस्था पूर्ण रूपमा सामान्य भने भइसकेको छैन । बुधबार हरिनगर, घुस्की, दुहबी र लौकहीलगायतका क्षेत्रमा विरोध प्रदर्शन भएका थिए । केही स्थानमा छिटफुट तनाव देखिए पनि ठूलो घटना हुन पाएन ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले मंगलबारको तुलनामा बुधबारको अवस्था धेरै सुधारिएको बताए । उनका अनुसार स्थानीय तहमा सर्वदलीय छलफल, सुरक्षा निकायको समन्वय र प्रशासनको सक्रियताले अवस्था नियन्त्रणतर्फ गएको हो । उनले कर्फ्यु जारी रहेकाले सुरक्षा सतर्कता अझै घटाइएको छैन ।

साम्प्रदायिक तनावको प्रभाव सीमावर्ती क्षेत्रमा पनि देखिएपछि प्रशासनले भारतसँग जोडिएका नाकामा निगरानी बढाएको छ । भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमामा कडा निगरानी गरिएको जानकारी दिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि मोरङका सबै सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको बताएका छन् ।

यसैबीच, बुधबार हरिनगरमा आन्दोलनकारी समूहले इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख, इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको ना १ झ ८७४ नम्बरको सरकारी गाडीमा आक्रमण गरेका छन् । ढुंगामुढा हुँदा गाडीको सिसा फुटेको थियो भने केहीबेर अवस्था तनावपूर्ण बनेको थियो ।

तनाव बढिरहेका बेला इटहरीमा भने सामाजिक सद्भावको सन्देश दिँदै नागरिक समाजको अगुवाइमा शान्ति र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागीहरूले अफवाहको पछि नलाग्न, संयमता अपनाउन र दुई समुदायबीचको विश्वास कायम राख्न आग्रह गरेका थिए ।

घटनापछि राहत र पुनःस्थापनाको विषयमा कोशी प्रदेश सरकारले निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारलाई २ लाख रुपैयाँ, घाइतेलाई जनही ५० हजार रुपैयाँ तथा आगजनीबाट घर, पसल वा अन्य सम्पत्ति क्षति भएकालाई पनि ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन् । राहत जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा वितरण गरिनेछ ।

प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्न आठबुँदे निर्णय पनि गरेको छ । निर्णयअनुसार पालिका तहमा सर्वदलीय र सर्वपक्षीय बैठक सञ्चालन गर्ने, साम्प्रदायिक सद्भावका कार्यक्रम अघि बढाउने र राजनीतिक, प्रशासनिक तथा सामाजिक पक्षबीच समन्वय बढाउने सहमति भएको छ ।

संघीय सरकारले भने बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट घटनाका सम्बन्धमा कुनै नयाँ निर्णय सार्वजनिक गरेको छैन । त्यसअघि दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता भने सरकारले व्यक्त गरेको थियो ।

गोली लागेर र त्यसपछिका विभिन्न घटनामा घाइते हुने को संख्या २२ पुगेको छ । उपचारपछि एक जना घर फर्किसकेका छन् भने २१ जना अझै विराटनगरका विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार न्युरो अस्पतालमा ९, विराट नर्सिङ होममा ४, नोबेलमा २, विराट मेडिकलमा २, गोल्डेन अस्पतालमा २ र अन्य अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

आइतबार राति प्रहरीको गोली लागेर ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको शव भने न्युरो अस्पतालमै राखिएको छ । प्रशासनले घटनाको निष्पक्ष छानबिन र शान्ति पुनःस्थापनाको प्रयासलाई तीव्र बनाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×