विराटनगर विमानस्थलबाट ब्राउन सुगर काठमाडौं पठाउने प्रयास विफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ०७:२९

विराटनगर । विराटनगर विमानस्थलबाट जुत्ताको सोलभित्र लुकाएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) काठमाडौं पठाउने प्रयास विफल भएको छ ।

विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागुऔषध फेला परेपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माका नाममा सेतो रङको खेलकुद जुत्ता (स्पोर्ट्स सुज) पठाउन खोजिएको थियो ।

Advertisement

उक्त पार्सल विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताभित्र शंकास्पद वस्तु देखिएको थियो । विमानस्थल सुरक्षा गार्डका इन्चार्ज सई राजेन्द्र तिम्सिना नेतृत्वको टोलीले पार्सल खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्था ब्राउन सुगर फेला परेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले १८ दशमलव ४८ ग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए । उनका अनुसार कुरियरमार्फत विराटनगर विमानस्थल हुँदै जहाजमार्फत ब्राउन सुगर काठमाडौं पठाउन खोज्ने विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पार्सल विराटनगर निवासी राघव झाले काठमाडौं पठाउनलाई खड्काको जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले झाको खोजी गरिरहेको छ ।

पक्राउ परेका खड्का तथा बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी एसपी कटवालले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×