
विराटनगर । सुनसरीको देवानगन्ज घटनापछि सामाजिक सञ्जालमा पुराना फोटो तथा भिडियो पोस्ट गरेर भ्रम र अफवाह फैलाउने गतिविधि बढेको भन्दै कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले त्यस्ता कार्य नगर्न सबैमा आग्रह गरेको छ ।
प्रतिष्ठानका प्रेस रजिस्ट्रार लीलाराज भट्टराईका अनुसार घटनासँग असम्बन्धित पुराना सामग्री सामाजिक सञ्जालमा सेयर गर्दा अनावश्यक भ्रम र उत्तेजना फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र पोस्ट तथा सेयर गर्न अनुरोध गरिएको हो । प्रतिष्ठानले सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संयमित भएर प्रस्तुत हुन पनि आग्रह गरेको छ ।

























