सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १०:२४

विराटनगर । सुनसरीको देवानगन्जमा भएको घटनापछि मोरङमा सद्भाव जोगाउन प्रशासन सक्रिय भएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको हो ।

प्रशासनले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्न बैठक आयोजना गरिएको जनाएको छ । प्रशासनले स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारी, हिन्दुवादी तथा मुस्लिम संघ संस्था, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, विराट व्यापार संघ, चेम्बर अफ कमर्स विराटनगर, पत्रकार महासंघ, गैरसरकारी संस्था तथा होटल एसोसिएसनका प्रतिनिधिलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

Advertisement

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार देवानगन्ज घटनापछि मोरङमा समेत सामाजिक तथा धार्मिक सद्भावमा असर पर्न सक्ने गतिविधि हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्दै जिल्लामा शान्ति सुरक्षा र आपसी सद्भाव कायम राख्ने विषयमा बैठकमा छलफल गरिनेछ । बैठकमा मुख्य रूपमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले खेल्ने भूमिका, सद्भाव यात्रा तथा विविध समसामयिक विषय मा छलफल हुने उनको भनाइ छ ।

सर्वपक्षीय बैठक बिहीबार दिउँसो मोरङ उद्योग व्यापार संघको सभाहलमा बस्ने छ । प्रशासनले पत्रमार्फत सम्बन्धित सबै पक्षलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×