
काठमाडौं । सुनसरीमा भएको अप्रिय घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले गम्भीर दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुनसरीकै जनप्रतिनिधि रहेका सांसद परियारले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा अनुभूति प्रकट गरे।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परियारले अवस्था नियन्त्रणमा लिन सरकारले देखाएको तत्परता र अभिभावकीय भूमिकाको प्रशंसा गरे। नेपालको विविधता र सहिष्णुता नै राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै उनले पशुपतिनाथमा बुद्धको मुकुट पहिराउने, हलेसी त्रिधाम र आलमदेवीमा विभिन्न धर्मका आस्थावान्हरू एकै ठाउँ जुट्ने अनुपम संस्कृति नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गरे।
इतिहासमा धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध नभएको स्मरण गराउँदै परियारले पछिल्लो समय सामाजिक सद्भाव भड्काउने र सहिष्णुता निमोठ्ने गतिविधि बढेकोमा चिन्ता जनाए। कुनै पनि बाह्य वा भित्री शक्तिले ‘प्रोजेक्ट डिजाइन’ गरेर सामाजिक सद्भाव बिगार्ने दुस्साहस नगर्न चेतावनी दिँदै उनले नेपालीहरूको बहुमूल्य विविधतालाई विभाजनको हतियार बन्न नदिने स्पष्ट पारे।
सचेतक परियारले सुनसरीलगायत देशभरका नागरिकलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न अपिल गरे। साथै, सद्भाव भड्काउने तत्त्वहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न र घटनाका दोषीलाई दण्डित गर्न उनले सरकारसँग माग गरे।

























