
काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम राख्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सुरक्षा परिषद्को ४३ औँ बैठकले सुनसरीमा भएको पछिल्लो घटनाको विस्तृत समीक्षा गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायहरूको समन्वयमा काम अघि बढाउने निर्णय भएको परिषद्का सदस्य-सचिव एवम् रक्षा सचिव केदारनाथ शर्माले बताए।
बैठकमा राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको थियो। साथै बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिका साथै समसामयिक विषयमा गम्भीर विश्लेषण गरिएको थियो।
यसैगरी, मनसुन र विपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी समयमै खोज, उद्धार र राहतका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउने निर्णय पनि परिषद्ले गरेको छ।
बैठकमा प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्यसचिव गोविन्द कार्की र प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति थियो।

























