मधेशमा सल्कियो देवानगन्जको आगो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १५:१६

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट सुरु भएको साम्प्रदायिक तनाव र अशान्तिको आगो मधेशका अन्य जिल्लाहरूमा पनि सल्किन थालेको छ । कप्तानगन्जमा गत आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको शल्यक्रियापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि घटनाकै राति देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भइसकेको छ । योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

Advertisement

घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए । अहिले पनि ८ जना घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर छ । सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड र आक्रमणका घटना भए पनि बुधबारदेखि भने अवस्था क्रमशः सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुनसरीमा कर्फ्यु आदेश भने यथावत् राखिएको छ ।

देवानगन्जको घटनाको पराकम्पन मधेशका अन्य जिल्लाहरूमा पनि देखिन थालेको छ । सिराहा, पर्सा, वीरगञ्ज लगायतका क्षेत्रमा प्रदर्शनहरू भएका छन् भने सिराहाको गोलबजारमा हुलदंगा र आन्दोलनले शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिराहाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको कसहा खोलादेखि चोहर्वा चौक र सैनिक चौकदेखि दक्षिण बहुमुखी क्याम्पससम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सिराहामा दुई समूहबीच झडप भएको छ ।

त्यस क्रममा ११ वटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएको छ । गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको छ । त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन ।

उता, प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

अर्कोतर्फ, हिंसा भड्किन नदिन र सद्भाव कायम राख्न मोरङ, सुनसरी लगायत विभिन्न जिल्लाहरूमा शान्तिको अपिल गर्दै नागरिक र्यालीहरू समेत आयोजना भइरहेका छन् । मधेशको बिग्रदो सुरक्षा अवस्थालाई लिएर संसद्मा पनि सरकारको तीव्र आलोचना भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, राप्रपा, नेकपा लगायत दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री बालेन शाह तथा गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरे । कांग्रेस प्रमुख सचेतक बासना थापा, एमाले उपनेता पद्मा अर्याल, राप्रपा सचेतक खुश्बु ओली लगायतले नागरिकको ज्यान जाँदा सरकार मौन बसेको र प्रशासनिक तयारीमा गम्भीर असफलता देखिएको आरोप लगाए ।

बढ्दो तनाव र संसद्को घेराबन्दीबीच सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को ४३ औँ बैठक बसेको छ । प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय, प्रदेश र स्थानीय तहको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।

बैठकमा सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भइरहेको ब्रिफिङ समेत गरिएको परिषद्का सदस्यसचिव एवम् रक्षा सचिव केदारनाथ शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×