पूर्वराष्ट्रपति भण्डारीको चिन्ता: संयम अपनाउन र सद्भाव जोगाउन अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १५:४८

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी लगायतका जिल्लामा पछिल्लो समय विकसित भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन्।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले ती घटनाहरूमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन्। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उनले विभिन्न समुदायबीचको आपसी सद्भाव र सहअस्तित्व नै राष्ट्रिय शक्तिको मूल आधार भएको बताइन्। पुर्खाहरूले जोगाएको यो परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिन नहुने उनको भनाइ छ।

Advertisement

वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपालीलाई उच्च संयमता अपनाउन आग्रह गर्दै उनले कुनै पनि प्रकारका अफवाह, घृणास्पद अभिव्यक्ति र सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन अपिल गरिन्। कुनै एक घटनालाई आधार बनाएर समुदायप्रति अविश्वास र द्वेष फैलाउनु राष्ट्रिय हित विपरीत हुने उनले स्पष्ट पारिन्।

नेपालको संविधानले दिएको धार्मिक र सांस्कृतिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै भण्डारीले कानुनी शासन र संवादबाटै समस्याको समाधान खोज्नुपर्ने बताइन्। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न उनले सरकारसँग माग गरिन्।

यस्तै, सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल र कोशी प्रदेश सरकारले चालेका कदमको स्वागत गर्दै उनले ती प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। उनले सबै राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका लागि आ–आफ्नो स्थानबाट जिम्मेवार र रचनात्मक भूमिका निभाउन आह्वान समेत गरेकी छिन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×