
लाहान। सिरहामा बिहीबार दिउँसो दुई पक्षबीच भएको प्रदर्शन र झडपका क्रममा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
सुरुमा उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिए पनि होस खुलेपछि धरान लगिएको हो। सुनसरीमा दुई समुदायबीच भएको झडपको असर सिरहामा पनि परेपछि दुई पक्षबीच भएको तनावमा परी दुई जना गम्भीर घाइते भएका छन्।
स्थिति अशान्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे तापनि प्रदर्शन, आगजनी र तोडफोड भने रोकिएको छैन। प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकलहरू बाहिर निकालेर आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। तोडफोड र आगजनी नियन्त्रण बाहिर जान थालेपछि स्थिति काबूमा लिन प्रहरीले गोली समेत चलाएको छ।

























