
काठमाडौं। सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ। घटनाको विरोध र प्रदर्शन चर्किएपछि धनुषा, सिरहा र सुनसरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने पर्सामा निषेधाज्ञा लागू गरिएको छ।
स्थानीय प्रशासनले सुनसरीमा साउन ११ गतेदेखि लगाएको कर्फ्यु देवानगञ्जसहित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ। त्यस्तै, जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। यता जिल्ला प्रशासन कार्यालय सिरहाले पनि लहान, गोलबजार र चोहर्वा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
सम्भावित प्रदर्शन र झडपलाई ध्यानमा राख्दै पर्साको वीरगञ्जमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाअन्तर्गत पूर्वमा प्रतिमा चोक (बसपार्क बाइपास रोड), पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटभित्र पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

























