
काठमाडौं। मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन छिमेकी बागमती प्रदेशका प्रहरी युनिटहरूलाई प्रदर्शन स्थलमा खटाइएको छ। बागमती प्रदेशअन्तर्गतका विभिन्न गण र तालिम केन्द्रमा कार्यरत प्रहरीलाई मधेसमा केन्द्रित गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
विशेष गरी सिरहा, सप्तरी, धनुषा, बारा र पर्सामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन नजिकका युनिटहरूबाट थप प्रहरी टोली पठाइएको हो। प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार बागमती प्रदेशका विभिन्न युनिटबाट खटिएका प्रहरीहरू मधेसका जिल्लाहरूमा पुगिसकेका छन् भने केही टोली जाने क्रममा छन्।
सिन्धुलीस्थित दुधौली तालिम केन्द्र, विशेष प्रहरी गण ढल्केबर, रातमाटे गण, बागमती प्रदेश प्रहरी गण हेटौँडा, भरतपुर तालिम केन्द्र र सप्तरीस्थित राजविराज तालिम केन्द्रका प्रहरी टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
यस्तै, स्थिति सुरक्षा व्यवस्थापन र कमान्ड सम्हाल्नका लागि प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमरेन्द्र बहादुर सिंहलाई मधेस प्रदेश पठाइएको छ।

























