
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाले कप्तानगञ्ज झडपमा ज्यान गुमाएका दुई स्थानीयका परिवारलाई जनही १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। अध्यक्ष बेचनप्रसाद मेहताको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले मृतकद्वयलाई सहिद घोषणाका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने, शोक प्रस्ताव पारित गर्ने र क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो।
गत साउन १० गते आइतबार राति दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ।
यसअघि सोही राति गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नोबेल शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचाररत १८ वर्षीय अमित यादवको अवस्था गम्भीर रहेको छ। कार्यपालिका बैठकले पूर्ण रूपमा अशक्त र अपाङ्ग भएका घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष मेहताले घटनापछि उत्पन्न परिस्थितिमा सङ्घीय सरकारको भूमिकाप्रति कडा आपत्ति जनाएका छन्। गृहमन्त्री आफैँ आएर स्थिति सम्बोधन गर्नुको साटो आफ्ना स्वकीय सचिव जेम्स कार्कीलाई मात्र पठाएर झारा टार्ने काम गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सरकारले घटनालाई गैरजिम्मेवार ढङ्गले हेरेको आरोप अध्यक्ष मेहताले लगाएका छन्।
बैठकले गोली चलाउन आदेश दिने र संलग्न सुरक्षाकर्मीमाथि छानबिन गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, निजी भौतिक सम्पत्तिको क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति माग गर्ने र स्वास्थ्य बाहेकका गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय समेत गरिएको छ। वडा ३ का वडा अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्य रामबहादुर महतोलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ।

























