
विराटनगर । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।
बिहीबार दिउँसो गोलबजारमा भएको झडपका क्रममा करिब २० वर्षीय यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार गठित समितिको सदस्यहरूमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा रहेका छन्।
समितिलाई घटनास्थलको निरीक्षण, प्रमाण सङ्कलन तथा सम्बन्धित पक्षहरूसँग सोधपुछ गरी घटनाको निष्पक्ष र विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
























