कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २०:१७

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति सशस्त्र प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवलाई बिहीबार साँझ काठमाडौं लगिएको हो । यादवको बायाँ हात र कोखामा गोली लागेको थियो ।

Advertisement

शल्यक्रिया गरेर गोली निकालिसकिएको छ । अवस्था गम्भीर रहेका उनको नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । अवस्था थप जटिल बन्दै गएपछि परिवारका सदस्यको सल्लाहमा थप उपचारका लागि काठमाडौं पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

चिकित्सकका अनुसार उनले बायाँ हात गुमाउने भएका छन् । यसअघि चै चिकित्सकले बायाँ हात जोगाउन नसकिने जानकारी परिवारलाई दिइसकेका थिए । परिवारका अनुसार अब यादवको उपचार ट्रमा सेन्टरमा हुनेछ । उनलाई काठमाडौं लैजानलाई स्वास्थ्यमन्त्री निशा मेहताले पहल गरेको बताइएको छ ।

विराटनगरकै विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई पनि काठमाडौं लैजाने तयारी थियो । तर, स्वास्थ्य अवस्था जटिल रहेकाले स्वास्थ्य उपकरण र चिकित्सकको निगरानीमा मात्रै लैजान सम्भव हुने देखिएपछि उनको तत्काल विराटमै उपचार भइरहेको छ । सबै कुराको चाँजोपाँजो मिलाएर मात्रै काठमाडौं पठाइने डीएसपी मिश्रले बताए ।

मेहताको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर चोट पुगेको चिकित्सकले बताएका छन् । नसाको शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ । अवस्था गम्भीर बन्दै गएपछि मेहतालाई पनि थप उपचारका लागि काठमाडौं लैजान अस्पतालले सुझाव दिएको छ ।

दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भयो ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ । अन्य आठ जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेकोमा एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अन्य सात जनाको विराटनगरकै न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×