
राजविराज । छिमेकी जिल्ला सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सप्तरीमा धार्मिक सद्भाव, शान्ति-सुरक्षा र अमनचयन कायम राख्न सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। जनप्रतिनिधिहरूसमेत सहभागी बैठकले जिल्लाभित्र आपसी एकता, सद्भाव र सहिष्णुता कायम राख्न स्थानीय तहमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ।
साथै, सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, पीडित पक्षलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एक-अर्काको धर्म, आस्था र समुदायप्रति लक्षित अराजक गतिविधि गर्ने तथा घृणा फैलाउने अभिव्यक्ति दिएर सद्भाव बिथोल्न खोज्ने कार्य हुन नदिन सबै पक्ष सजग रहने प्रतिबद्धता जनाएका छन्।
क्याम्पस प्रमुख, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकले विद्यार्थी र सन्तानलाई सम्झाइबुझाइ गर्ने र आन्दोलनमा बालबालिकाको प्रयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्ने विषयमा समेत सहमति जुटेको छ।

























