
विराटनगर । उदयपुर र झापामा बिहीबार डुबेर दाजुभाइसहित चार बालकको मृत्यु भएको छ । उदयपुरमा तीन र झापामा एकसहित चार जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको हो । तीन जनामध्ये दुई जना एकै घरका दाजुभाइ छन् ।
कटारी–३ निवासी ११ वर्षीय सुमितकुमार दनुवार, उनका ७ वर्षीय भाइ सुगमकुमार दनुवार तथा उनीहरूका नातेदार ८ वर्षीय आदित्यकुमार दनुवारको मृत्यु भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार बिहीबार साँझ करिब ५ः३० बजे तीनै जना बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बलको संयुक्त टोली तत्काल खोजीमा खटिएको थियो ।
खोजतलासका क्रममा कटारी–३ स्थित हडैया खहरे खोलामा पानी जमेर बनेको गहिरो खाल्डोमा डुबिरहेको अवस्थामा उनीहरु फेला परेका थिए । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरिदिए ।
तीनै जना बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । घटनाको इलाका प्रहरी कार्यालय कटारीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा रहेको कप्तान जनसमूह पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुद्धशान्ति–४ आइतबारे बस्ने बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको हो ।
प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । बालक कसरी पैनीमा डुबेका हुन् भन्ने यकिन हुन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वर्षायाममा नदी, खोला, पैनी तथा पानी जमेको गहिरो खाल्डोमा बालबालिकालाई एक्लै जान नदिन र विशेष सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ । सावधानीले मात्रै ज्यान जोगाउन सकिने कुरा सबैले बुझ्न जरुरी रहेको एसएसपी थापाले बताए ।

























