विराटनगरमा नाराबाजी र प्रदर्शनबीच गृहमन्त्रीले भेटे गोलीकाण्डका घाइते, विमानस्थलमै एक घण्टा सुरक्षा ब्रिफिङ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २२:१४

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर प्रदर्शन र नाराबाजी भएको छ ।

घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका दर्जनौँ प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने तथा हिन्दु राज्य घोषणा गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका हुन् ।

Advertisement

उनीहरुले ‘बालेन सरकार होसियार’, ‘हिन्दु राज्य घोषणा गर’, ‘मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि मागेका छन् । उनीहरुले गोलीकाण्डका बारेमा सरकारको जवाफ पनि माग गरेका छन् । गृहमन्त्रीविरुद्ध पनि चर्को नाराबाजी भएको छ । नाराबाजीका कारण अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो ।

प्रदर्शनकारी र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालबीच केहीबेर भनाभनसमेत भएको थियो । एसपी कटवालले घटनाको निष्पक्ष छानबिन भइरहेको भन्दै हतारमा निष्कर्षमा नपुग्न आग्रह गरेका थिए । सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरा परिचालन गरिएको थियो ।

त्यसअघि बुद्ध एयरको जहाजमार्फत साँझ करिब ७ बजे विराटनगर विमानस्थलमा ओर्लिएका गृहमन्त्री गुरुङले झण्डै एक घण्टासम्म कोशी प्रदेशका सुरक्षा अधिकारीहरुसँग सुनसरीको देवानगन्जलगायतका स्थानको सुरक्षा अवस्थाका बारेमा विस्तृत ब्रिफिङ लिएका थिए । बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सुरक्षा निकायले देवानगन्ज क्षेत्रको अवस्था नियन्त्रणउन्मुख भए पनि पूर्ण रूपमा चुनौतीमुक्त भने नरहेको जानकारी गराएका थिए ।

विमानस्थलमा प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीहरूसँग भने गृहमन्त्रीले कुनै प्रतिक्रिया दिएनन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पत्रकारहरूलाई ‘गृहमन्त्री ज्यूलाई कुनै पनि प्रश्न नसोध्नुहोला’ भन्ने सूचना दिएका थिए । सुरक्षा ब्रिफिङपछि गृहमन्त्रीको टोली विराट नर्सिङ होम पुगेको थियो ।

त्यहाँ उपचाररत चार जना घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनले उपचारमा सरकारले कुनै कमी हुन नदिने र दोषीमाथि कानुनी कारबाही हुने आश्वासन दिए । उनले घटनाको छानबिन जारी रहेकाले केही समय धैर्य गर्न पनि आग्रह गरेका छन् ।

त्यसपछि मन्त्रीद्वय न्युरो अस्पताल पुगेका हुन् । न्युरोमा तीन जना घाइतेको उपचार भइरहेको छ । गृहमन्त्री र स्वास्थ्यमन्त्रीले त्यहाँ पनि घाइतेसँग भेटघाट गरी उपचारको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि त्यसलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । योसँगै कप्तानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । घटनामा गोली लागेर घाइते भएकामध्ये आठ जना उपचाररत रहेकामा एक जनालाई बिहीबार साँझ थप उपचारका लागि काठमाडौं लगिएको छ ।

घटनापछि देवानगन्जसहित सुनसरीका विभिन्न स्थानमा तनाव फैलिएको थियो । स्थानीयको मागपछि घटनास्थलको अवस्था बुझ्न र मृतक तथा घाइते परिवारसँग भेटघाट गर्न गृहमन्त्री विराटनगर आएका हुन् । कप्तानगन्जबाट सुरु भएको हिंसाको आगो मधेश प्रदेशसम्म फैलिएको छ ।

ठूलो हिंसा फैलिँदा पनि बेवास्ता गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । सबैतिरबाट विरोध हुन थालेपछि गृहमन्त्री गुरुङ घाइतेको अवस्था र घटनापछिको परिस्थिति बुझ्न विराटनगर आएका हुन् ।

विराटनगरका अस्पतालमा उपचाररत सबै घाइतेसँग भेटघाट सकेपछि गृहमन्त्रीसहितको टोली इनरुवा जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो । देवानगन्ज जाने वा नजाने भन्ने विषयमा भने सुरक्षा निकायबाट ब्रिफिङ लिएपछि गृहमन्त्रीले निर्णय लिने बताइएको छ । स्रोतका अनुसार सुरक्षा अवस्थाको मूल्यांकनका आधारमा मात्रै गृहमन्त्रीले देवानगन्जको विषयमा निर्णय लिने छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा नाराबाजी र प्रदर्शनबीच गृहमन्त्रीले भेटे गोलीकाण्डका घाइते, विमानस्थलमै एक घण्टा सुरक्षा ब्रिफिङ
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×