
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शुक्रबार) अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम हो ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बादल लागेको छ भने मधेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । हिमाली भू–भागका थोरै स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले विशेषगरी भारी वर्षाको सम्भावना रहेका स्थानमा नदीनाला आसपास, पहिरोको जोखिम भएका स्थान र कमजोर सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।



















