
झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । हिमाली राजमार्गअन्तर्गत बाह्रदशी गाउँपालिका–३ रामनगर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घोडामाराबाट राजगढतर्फ आउँदै गरेको साइकल यात्रीलाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९ प २६९४ नम्बरको मोटराइकलले बिहीबार दिउँसो १ः३५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा बाह्रदशी–३ का ५० वर्षीय प्रेमबहादुर पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बिर्तासीटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राति ८ः३० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । सामान्य अवस्थाका गणेशको बिर्तासीटी अस्पतालमै उपचार भइरहेको छ ।
मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















