
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न संवेदनशील परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँगको छलफलमा उनले यस्तो धारणा राखे।
राज्यका सबै अङ्गहरू उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन प्रधानमन्त्रीले आग्रह गरे। पीडित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको अनुभूति गराउनु, घटनाको निष्पक्ष छानबिन गर्नु र थप अशान्ति हुन नदिनु सरकारको मुख्य प्राथमिकता रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन, जनताको दुःख-सुखमा साथ दिन र राज्य एवं नागरिकबीच विश्वासको बलियो पुल बनेर काम गर्न अनुरोध गरे।

























