विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०६:३२

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षा हुने क्रम जारी रहनेछ ।

हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Advertisement

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.