वर्षाले देशभर सडक संकट : मेचीदेखि अरनिकोसम्म पहिरोको कहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०७:३२

विराटनगर । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा पहिरो, बाढी र सडक कटानका कारण प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

इलामको मेची राजमार्गदेखि सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको पासाङ ल्हामु राजमार्गसम्म सवारी आवागमन ठप्प भएको छ । जोखिम बढेपछि बीपी राजमार्ग र कान्तिलोकपथमा रात्रीकालीन सवारी सञ्चालनसमेत रोकिएको छ ।

Advertisement

नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै अविरल वर्षाका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको हो । इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा लगातारको वर्षापछि सडक हिलाम्मे बनेर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द भएपछि इलाम हुँदै पूर्वी पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारीसाधन रोकिएका छन् ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, कान्तिलोकपथमा पनि पहिरो र वर्षाका कारण हुने जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने यो सडक बन्द हुँदा आवागमनमा प्रत्यक्ष असर परेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि उक्त सडकमा पनि सवारी सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा पर्ने पासाङ ल्हामु राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अत्यधिक रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भए त्यसको उपयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.