सुनसरीमा कर्फ्यु हटाएर निषेधाज्ञा लागू

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०९:०५

विराटनगर । सुनसरीमा केही दिनदेखि लागू गरिएको कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु हटाउने निर्णय गर्दै जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा भने अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । कर्फ्यु फेरि लागू गर्ने कि नगर्ने भन्ने निर्णय प्रशासनले साँझ ५ बजे लिनेछ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम तोकिएका क्षेत्रमा निषेध आदेश जारी गर्दै पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ ।

प्रशासनले इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । यस्तै, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पनि निषेधाज्ञा लागू रहने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ । आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

कप्तानगन्ज गोलीकाण्डपछि उत्पन्न तनाव र त्यसपछिका हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सुनसरीमा यसअघि कर्फ्यु आदेश जारी गरिएको थियो । अहिले कर्फ्यु हटाइए पनि अवस्था पूर्ण रूपमा सामान्य नभएकाले संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा कायम राखिएको प्रजिअ अर्यालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.