प्रतीकात्मक तस्बिरकाठमाडौं। नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ। साउन १३ गतेदेखि आज (शनिबार) बिहान ९ बजेसम्मको अवधिमा तराईका विभिन्न सात जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा देखा परेको साम्प्रदायिक तनाव र सामाजिक सद्भाव बिथोल्ने प्रयासलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै धनुषा जिल्लाबाट ४५ जना पक्राउ परेका छन्।
त्यस्तै सर्लाहीबाट नौ जना, सिरहाबाट पाँच जना, महोत्तरी र सुनसरीबाट दुई-दुई जना तथा पर्सा र सप्तरीबाट एक-एक जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि सामाजिक सुव्यवस्था विरुद्धको कसुर वा सम्बन्धित कानुन अनुसार आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले कुनै पनि प्रकारको साम्प्रदायिक विद्वेष फैलाउने कार्यमा संलग्न नहुन र सामाजिक एकता कायम राख्न आम नागरिकमा अपिलसमेत गरेको छ।



















