सप्तरीमा सामाजिक सञ्जाल र प्रदर्शनमा कडा निगरानी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १६:०४

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्ति–सुव्यवस्था, अमनचयन र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिक, धार्मिक गुरु, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग संयमता अपनाउन आग्रह गरेको छ।

शनिबार जारी सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम र ह्वाट्सएपलगायत सामाजिक सञ्जालबाट धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा बढाउने तथा भ्रामक सामग्री पोस्ट, रि–पोस्ट, लाइक वा सेयर नगर्न अनुरोध गरिएको छ। यस्ता गतिविधिमा संलग्न प्रोफाइलहरूको निगरानी भइरहेको र यसअघि पोस्ट गरिएका त्यस्ता सामग्री तत्काल हटाउन प्रशासनले भनेको छ।

Advertisement

यस्तै आन्दोलनका क्रममा लाठी, भाला, तरबार वा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न पनि सचेत गराइएको छ। आन्दोलनमा बालबालिकाको प्रयोग कानुनले निषेध गरेको उल्लेख गर्दै बालबालिकालाई सहभागी गराए सम्बन्धित आयोजकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्‍याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जोकोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही हुने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.