सतर्कता केन्द्रमा स्वास्थ्य र शिक्षाका ३७२ उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १६:१६

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रका ३७२ वटा उजुरी परेका छन्। आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रसँग सम्बन्धित १९२ र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १८० वटा उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका १०३ र स्वास्थ्य क्षेत्रका १४७ वटा उजुरी फर्छ्योट भइसकेका छन् भने शिक्षाका ८९ र स्वास्थ्यका ३३ वटा उजुरी फर्छ्योट हुन बाँकी छन्।

स्वास्थ्य क्षेत्रमा परेका उजुरीहरू मुख्यगरी उपकरण खरिद र कर्मचारीलाई पदअनुसार जिम्मेवारी नदिएको विषयसँग सम्बन्धित छन्। वीर अस्पतालमा पदअनुसार जिम्मेवारी नदिइएको, ट्रमा सेन्टरमा सिटी/एमआरआई उपकरण खरिद पारदर्शी नभएको, औषधि व्यवस्था विभागले उद्योगको निरीक्षण प्रतिवेदन गोप्य राखेको तथा प्रसूति गृहमा विज्ञापन नै नगरी गुपचुप कर्मचारी भर्ना गरिएको विषयमा उजुरी परेको छ। यस्तै विशेषज्ञ चिकित्सकहरू समयमा नपुग्ने र स्वास्थ्यकर्मीले बिदा नै नलिई स्नातक तह अध्ययन गरेको उजुरीसमेत परेको छ।

Advertisement

शिक्षा क्षेत्रतर्फ त्रिभुवन विश्वविद्यालयमा कर्मचारी बढुवा प्रक्रिया वैज्ञानिक नभएको, अन्तरप्रदेश सरुवामा चलखेल भएको र स्थानीय तहले शिक्षक सरुवामा रकम लिने गरेको उजुरी परेका छन्। त्यसैगरी प्राध्यापकहरू अध्ययन बिदापछि नफर्किने, पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिन ढिलाइ गरेको र उत्तरपुस्तिका हराउनेजस्ता गम्भीर लापरबाहीबारे पनि उजुरी दर्ता भएको केन्द्रले जनाएको छ।

प्राप्त उजुरीहरूको अनुगमन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस गरिँदै आएको केन्द्रका नीति निर्माण तथा अनुगमन शाखाका अधिकृत शोभित रिजालले बताए। उजुरी परेपछि तत्काल प्रक्रिया अगाडि बढाइने र अधिकांश मुद्दामा निर्देशन दिने तथा सतर्क गराउने गरिएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.