
काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा परेका आरोहीको उद्धारका लागि नेपाली र पाकिस्तानी अनुभवी आरोहीको टोली शनिबार उच्च हिमाली क्षेत्रतर्फ अघि बढेको छ।
ड्रोनमार्फत क्याम्प–१ नजिक थप ५ वटा शव देखिएपछि उद्धार टोली परिचालन गरिएको हो। तीमध्ये दुई शव हिमचिराको छेउमा देखिएको जनाइए पनि पहिचान हुन सकेको छैन। प्रसिद्ध नेपाली आरोही मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र पाकिस्तानका आरोही सिर्बाज खानको नेतृत्वमा स्थलमार्गबाट टोली अघि बढेको छ। उद्धारका लागि केही नेपाली गाइडले आफ्नै आरोहण अभियानसमेत स्थगित गरेका छन्।
पाकिस्तान सेनाका हेलिकोप्टरले ड्रोनले देखाएका स्थानको पुष्टि गर्न हवाई उडान सुरु गरेका छन्। ६ हजार मिटरभन्दा माथिको तीव्र भिरालो भूभाग भएकाले शव निकाल्न हेलिकोप्टर मात्र पर्याप्त नहुने अधिकारीहरूले बताएका छन्। बिहीबार गएको हिमपहिरोपछि केही आरोही अझै बेपत्ता छन् भने यसअघि नै तीन आरोहीको शव फेला परिसकेको छ।

























