
काठमाडौं । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार सामाजिक सञ्जालमार्फत खबरको पुष्टि गरेको छ।
बिहीबार ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको विनाशकारी हिमपहिरोमा पुर्जासँगै उनको टोलीका अन्य सदस्यले पनि ज्यान गुमाएका छन्। कम्पनीका अनुसार पुर्जाका आरोहण सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि दुर्घटनामा मृत्यु भएको छ।
‘अत्यन्तै गहिरो दुख र पीडाका साथ हामी यो पुष्टि गर्दछौँ कि ब्रड पिकमा आएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले ज्यान गुमाउनुभयो,’ इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी निम्स मात्र नभई यो त्रासदीमा ज्यान गुमाउने सहयात्री र गाइडहरू युक्ता र निमा शेर्पाप्रति पनि शोक व्यक्त गर्दछौँ।’
शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै पाँचवटा शवहरू फेला परेका थिए। त्यसअघि नै तीनवटा शव बरामद भइसकेका थिए। खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको हो।
पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स: नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा चर्चित छ।



















