
काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित ६ जना नेपाली आरोहीको निधन भएको छ। बिहीबारदेखि हराइरहेका आरोहीहरूको मृत्यु भएको शनिबार आधिकारिक पुष्टि भएको हो।
निधन हुने नेपाली आरोहीहरूमा पुर्जासहित पुरबहादुर गुरुङ ९युक्ता०, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्। १० जनाको आरोहण दलमा रहेका बाँकी ४ जना विदेशी नागरिकको पनि सोही दुर्घटनामा ज्यान गएको छ। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले सामाजिक सञ्जालमार्फत खबरको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको छ।
शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै शवहरू फेला परेपछि मिङ्मा ग्याल्जे शेर्पा ९मिङ्मा जी० र पाकिस्तानी आरोही सिरबाज खानको नेतृत्वमा रहेको उद्धार टोलीले भौगोलिक कठिनाइका बाबजुद घटनास्थल पुगेर मृतकहरूको पहिचान गरेको हो।
पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक यात्रा नेटफ्लिक्स डकुमेन्ट्री ुफोर्टीन् पिक्सस् नथिङ इज इम्पोसिबलु मार्फत विश्वभर चर्चित छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ अमर र जीवित रहने बताएका छन्।



















