सेउटाको संकटले गम्भीर राजनीतिक मतभेद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०८:५२

एजेन्सी । मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको उत्तर अफ्रिकी भू–भाग सेउटामा प्रवेश गरेपछि युरोपेली संघ (ईयू)भित्र सीमा सुरक्षा र आप्रवासन नीतिलाई लिएर गम्भीर राजनीतिक मतभेद चर्किएको छ । संकटका बारेमा छलफल गर्न ईयूले आगामी मंगलबार सदस्य राष्ट्रका गृहमन्त्रीहरूको आपत्कालीन बैठक बोलाएको छ ।

सेउटामा ठूलो संख्यामा आप्रवासी समुद्री मार्ग हुँदै प्रवेश गरेपछि ईयूका २७ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले इटाली र डेनमार्कको पहलमा युरोपेली आयोग, युरोपेली परिषद् र ईयू परिषद्को अध्यक्ष राष्ट्र आयरल्यान्डलाई संयुक्त पत्र पठाएका छन् । पत्रमा बाह्य सीमा थप सुदृढ बनाउन, फ्रोन्टेक्सको भूमिका विस्तार गर्न, मानव तस्करी नियन्त्रण गर्न तथा अनियमित आप्रवासनलाई प्रोत्साहन गर्ने सम्भावित नीतिहरू रोक्नुपर्ने माग गरिएको छ । उनीहरूले सेउटाको घटनालाई स्पेनको मात्र नभई सम्पूर्ण युरोपेली संघको साझा चुनौतीका रूपमा व्याख्या गर्दै समन्वित रणनीति आवश्यक रहेको बताएका छन् ।

Advertisement

ती सदस्य राष्ट्रहरूले स्पेनले अपनाएको आप्रवासनसम्बन्धी उदार नीतिले युरोप प्रवेशको आशा बढाएको र भविष्यमा यस्ता संकट दोहोरिन सक्ने चिन्ता व्यक्त गरेका छन् । तर, स्पेन सरकारले भने सेउटा पुगेका अधिकांश आप्रवासी आफ्नो नियमितीकरण योजनाका लागि योग्य नै नरहेको भन्दै संकटलाई त्यही नीतिसँग जोड्नु राजनीतिक आरोप मात्रै भएको दाबी गरेको छ ।

संयुक्त पत्र सार्वजनिक भएपछि स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लाइएन, युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्टा र आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनलाई पत्र लेख्दै केही युरोपेली सरकारको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले केही सरकार पूर्वाग्रह, गलत सूचना, अज्ञानता र राजनीतिक स्वार्थबाट प्रेरित भएर स्पेनमाथि दोष थोपर्न खोजेको आरोप लगाएका छन् ।

सान्चेजले सेउटामा देखिएको अवस्था स्पेनको मात्र नभई युरोपेली संघको बाह्य सीमामा आएको साझा चुनौती भएको उल्लेख गर्दै यसको समाधान पनि सबै सदस्य राष्ट्रको साझा जिम्मेवारी हुनुपर्ने बताएका छन् । संकटका बेला सहयोग गर्नुको सट्टा केही देशले स्पेनलाई दोषारोपण गर्दै सेन्जेन व्यवस्थाबाट अलग गर्नुपर्ने बहस उठाउनु स्वार्थी, विभाजनकारी र गैरकानुनी भएको उनको भनाइ छ ।

स्पेनका अनुसार सरकारले ४८ घण्टाभित्रै सीमा पुनः नियन्त्रणमा ल्याएको, हजारौं आप्रवासीलाई मानवीय सहायता उपलब्ध गराएको, करिब ५० हजारभन्दा बढीलाई मोरक्को फर्काएको तथा मुख्यभूमि युरोपतर्फ अनधिकृत आवागमन हुन नदिएको दाबी गरेको छ । फ्रोन्टेक्सको तथ्यांक उद्धृत गर्दै सान्चेजले सन् २०२१ देखि २०२६ सम्म स्पेन हुँदै भएको अनियमित प्रवेश इटालीको तुलनामा झन्डै आधा मात्र रहेको पनि बताएका छन् ।

सेउटा संकटसँगै सेन्जेन व्यवस्थालाई लिएर पनि विवाद बढेको छ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले स्पेनसँगको सेन्जेन व्यवस्था एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेकी छन् । फिनल्यान्ड, डेनमार्क, फ्रान्स र पोर्चुगलले पनि सीमा जाँच कडा बनाउने विकल्पमाथि छलफल गरिरहेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले समेत आवश्यक परे सेन्जेन सहकार्य निलम्बन गर्नेसम्मका सबै विकल्प खुला राख्न ईयूलाई आग्रह गरेकी छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लाइएनले भने स्पेन र मोरक्कोका सुरक्षा निकायबीचको समन्वयको प्रशंसा गर्दै युरोपको बाह्य सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले मोरक्कोलाई गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीलाई तत्काल फिर्ता लैजान आग्रह गरेका छन् ।

सेउटाको सीमा क्षेत्रमा भने अवस्था विस्तारै सामान्य बन्दै गएको स्पेनी अधिकारीहरूले बताएका छन् । समुद्री मार्गबाट हुने अनियमित प्रवेश रोक्न एल ताराखाल क्षेत्रमा करिब ५०० मिटर लामो फ्लोटिङ ब्यारियर निर्माण सुरु गरिएको छ । स्थानीय प्रशासनका अनुसार अधिकांश आप्रवासी फर्किसकेका छन् र नियमित जनजीवन तथा व्यवसाय पुनः सञ्चालनमा आउन थालेका छन् ।

स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्काका अनुसार संकटका क्रममा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । मोरक्कोको सीमा क्षेत्र फ्निदेकमा पनि जलेका सवारी हटाउने, सडक सफा गर्ने र नियमित आवागमन पुनः सञ्चालन गर्ने काम भइरहेको छ ।

सेउटा र मेलिल्ला अफ्रिकासँग जोडिएका युरोपेली संघका दुई मात्र स्थलसीमा हुन् । गर्मी मौसममा सामाजिक सञ्जालमार्फत संगठित भएर समुद्र हुँदै सेउटा प्रवेश गर्ने प्रयास बढ्ने गरेको छ । सन् २०२१ मा पनि केही दिनमै करिब ८ हजार आप्रवासी सेउटा पुगेका थिए । जसले स्पेन र मोरक्कोबीच कूटनीतिक तनाव बढाएको थियो ।

अब सबैको ध्यान मंगलबार बस्ने ईयू गृहमन्त्रीहरूको आपत्कालीन बैठकतर्फ केन्द्रित छ । उक्त बैठकले सेउटा संकटको तत्कालीन व्यवस्थापन मात्र नभएर भविष्यमा युरोपेली संघले आप्रवासन र बाह्य सीमा सुरक्षासम्बन्धी नीति कुन दिशामा अघि बढाउने भन्ने विषयमा पनि महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
तालमा हराएको बिहेको औंठी ‘मेटल डिटेक्टर’को मद्दतले भेटियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.