
एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र पेरुमा पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ ।
दक्षिणी पेरुको विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र ‘नाज्का लाइन्स’ माथि दृश्यावलोकन उडान गरिरहेको सेस्ना क्याराभान सी–२०८ विमान शनिबार दिउँसो करिब १ बजेतिर दुर्घटनामा परेको हो । स्थानीय अधिकारीका अनुसार दुर्घटनामा विमानमा रहेका ११ विदेशी पर्यटक र दुई पेरुभियाली चालक दलका सदस्यको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक विदेशीमध्ये सात जना इटालीका, दुई जना जर्मनीका र दुई जना स्पेनका नागरिक रहेका छन् । विमान उडाइरहेका दुई पाइलट पेरुभियाली नागरिक थिए ।
प्रहरीका मेजर जोर्ज एन्ड्राडेले दुर्घटना अत्यन्तै भीषण भएकाले विमानमा रहेका कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको बताए । उनका अनुसार दुर्घटनास्थलबाट शव संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
पिस्को विमानस्थलबाट उडेको उक्त विमान स्थानीय ‘एरोडियाना’ एयरलाइन्सको रहेको जनाइएको छ । एयरलाइन्सले विज्ञप्ति जारी गर्दै नियामक निकायसँग समन्वय गरी दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने तथा आफ्ना उडान सञ्चालन प्रक्रियाको समीक्षा गर्ने जनाएको छ ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र सम्बन्धित निकायले विस्तृत अनुसन्धान सुरु गरेको अधिकारीहरूले बताएका छन् ।



















