
जनकपुरधाम । धनुषामा कर्फ्यु हटेपछि बन्द भएको रेल सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि आजदेखि रेल सेवा सुरु भएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहका अनुसार जयनगर-जनकपुर-भंगहा खण्डमा पूर्वनिर्धारित समयअनुसार बिहान १० बजेदेखि नियमित रूपमा रेल चल्न थालेको छ।
यसअघि स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि कम्पनीले सूचना जारी गर्दै रेल सेवा स्थगन गरेको थियो। प्रशासनले शनिबार कर्फ्यु आदेश हटाएपछि आजदेखि सेवा पूर्ववत् रूपमा सञ्चालनमा ल्याइएको हो।

























